सञ्चालकको पदावधि ः
(१) सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुनः नियुक्ति तथा मनोनित हुन सक्नेछ । तर स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि नियुक्त भएको कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्नेछ।
सञ्चालकको योग्यता ः
(१) सञ्चालकको पदमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनुपर्नेछ ः–
(क) विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको, वा
(ख) स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको, वा
(ग) तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ‘घ’ वर्गको वित्तीय संस्थाको सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैंकले समय समयमा तोके बमोजिम हुनेछ । तर स्वतन्त्र सञ्चालकको योग्यता दफा १७ बमोजिम
हुनेछ ।
स्वतन्त्र सञ्चालकको योग्यता ः
बैंक वा वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्दा देहायको योग्यता तथा अनुभव प्राप्त व्यक्ति मध्येबाट गर्नु पर्नेछ ः–
(क) ‘क’ वर्गको बैंक वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ख) ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक बाहेक ‘ख’ वर्गको अन्य विकास बैंक एवं ‘ग’ वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ग) ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।